अहिले कसैका लागि चिठी लेख्न फुर्सद छैन । फोनमा कुरा गर्नु पनि समयको बर्बादीभन्दा अरू केही होइन । आधुनिक पुस्ताका लागि यो सबै काम ख्याल-ठट्टाभन्दा अरू केही हुन सक्दैन । उनीहरूको माया मात्र शारीरिक सम्बन्धमा केन्दि्रत छ । उनीहरूको माया जुनी-जुनीको माया र समर्पणमा अटाएको छैन । इन्टरनेटको चक्रब्युहमा परेका युवाहरू हिजोआज फेसबुक र हाइफाइभमा आफ्नो माया व्यक्त गर्न थालेका छन् । उनीहरूमा केही संकोच छैन, जसले पढे पनि हुने । ब्लगमा जे मनमा आयो त्यही लेख्यो । नेटबाट एसएमएस कपी गर्यो अनि तुरुन्त अरूलाई पठायो । भए हुन्छ नभए सन्च भनेझैं छ अहिलेको प्रेम । मन पराएका मान्छेलाई फूल पठाउनु र रगतले लेखेको चिठी पठाउनु पूरै बेबकुफी बन्दै गएको छ । आधुनिक भावनामा गरिने प्रेममा आई लभ यू लेखेर एसएमएस पठाए भैहाल्छ, जस्तोसुकै प्रतिक्रिया आओस् मतलब छैन ।
शुभकामना तथा बधाई दिन पनि अहिले कार्ड बाँड्नुपर्छ भन्ने छैन । त्यसो गर्नुलाई अहिलेको पुस्ताले मूर्खता मान्न सक्छ । साइबरमा बस्यो अथवा घरकै नेट जडान गरिएको कम्प्युटरमा बसेर इकार्ड पठायो भैहाल्छ । जहाँ आफूले चाहिँदो शब्द पठाए पुगिहाल्छ । जुन पारामा पनि पठायो प्रापकले स्वीकार गर्नैपर्छ । नेपालीलाई जानि नजानी नेपांग्रेजी बनाएर सेन्ड गर्यो एसएमएस र मेल त गैहाल्छ । यति त हो, आजको जमानामा चल्ने एसएमएसको माया ।
आधुनिकीकरणसँगै मायाका बारेमा युवापुस्ताको सोच पनि बदलिएको छ । जोसँग डेटिङ गयो उसँगै विवाह गर्नैपर्छ भन्ने छैन । आजकाल माया पहिलेजस्तै बाबुआमाले खोजेको युवा वा युवतीलाई बन्द आँखाले स्वीकार गर्ने होइन, बरु पूरै बुझेर मात्र वैवाहिक सम्बन्ध हुन्छ ।
सूचना-क्रान्तिको समयमा माया त केवल समय कटाउने साधन बनेको छ । एउटासँग च्याटिङ गर्यो अर्कोसँग मोबाइलमा एसएमएसको बार । भनिन्छ, एसएमएस कुनै नशालु पदार्थभन्दा कम छैन । त्यसमा रिंगटोन पनि जोडिएको छ । रिंगटोनले नै कसले फोन गरेको थाहा हुन्छ र त्यो कललाई कट र एसेप्ट गर्ने आफ्नै हातमा छ । रिंगटोन पनि एउटा नशा बनेको छ । वास्तवमा सुविधाले मानिसको जिउने स्टाइल र सोचमा पूरै परिवर्तन ल्याएको छ । सानो स्क्रिनमा सबै पाइन्छ । मोबाइल मायाको साइनो लाउने सजिलो माध्यम भएको छ । त्यसैले सबै ठाउँमा सबैले मोबाइलमा एसएमएस गरिरहेको देख्न सकिन्छ । होटल, रेस्टुराँ, पार्क, सिनेमा हल, डान्सपार्टी, सडक चोक, गल्लीहरूमा जहींतहीं एसएमएस गर्न व्यस्त युवाहरू देखिनु नौलो रहेन ।
यसको लोकप्रियता बढ्नुको प्रमुख कारण हो- चाँडोभन्दा चाँडो खबर जानु । पहिले लभ नोट पठाउन सजिलो थिएन । प्रेम-प्रेमिकाको कुरा नगरौं, श्रीमान-श्रीमती पनि मनोरञ्जनका लागि आँगन र कोठामा एसएमएस गरिरहेका हुन सक्छन् । श्रीमान्ले व्यक्त गर्ने एसएमएस माया श्रीमतीका लागि खुसी बन्छ भने श्रीमतीको एसएमएस श्रीमान्का लागि उत्प्रेरणा हुन्छ । एक-अर्काबीच आदान-प्रदान हुने एसएमएसले दम्पतीको माया गाढा बनाइरहेको छ । कहिलेकाहीं त उनीहरू आफ्ना साथी-संगीलाई श्रीमान्ले पठाएका राम्रा-राम्रा एसएमएस फुर्तिलो पारामा देखाउँछन् । यसले माया प्रदर्शन गर्नुले कति महत्त्वपूर्ण भूमिका खेल्छ भन्ने कुरा बुझाउँछ ।
त्यतिले मात्र पुग्दैन । कसैलाई सम्झन मात्र मोबाइलमा मिस कल गरे पुग्छ । कुनै पनि काममा हुँदा धेरै युवा र दम्पतीको मिसकल आए अचम्म मान्नु पर्दैन ।
एसएमएसलाई कसैले यौनको एक रूप पनि मान्दै आएका छन् । जुन केही हदसम्म सही पनि हुन सक्छ । अहिलेको पुस्ताले मायालाई शारीरिक सम्बन्धसँग तुलना गर्ने गरेको छ । जो राम्रो छ, जोसँग पैसा छ उसले माया पाउँछ । अरूलाई भने माया पाउन गार्हो छ । त्यसैले पैसा हुनेले मायाको भिखारी हुनुपर्दैन । भावना, आत्मीयता सबै बेकार कुरा हुन् । मुख्य कुरा त अहिलेको युवा पुस्ता चोखोपनमा विश्वास गर्दैन । यसलाई उनीहरूले हल्का रूपमा लिने गरेका छन् ।
आधुनिकताले सबै कुरा बदलिदिएको छ । सबै सीमा तोडि्दै गएका छन् । एसएमएस गर्नु कुनै गार्हो काम होइन । भाषाको ज्ञान नभए पनि यो खेलमा रमाउन सकिन्छ । कहिल्यै पछाडि हट्नु पर्दैन, जे आउँछ त्यही लेख्यो पठायो चलिहाल्छ । यहाँ भावुकतामा डुबेर मायाका शब्द टाइप गर्नु आवश्यक छैन, जस्तोसुकै टाइप गरे पनि अरू केही बुझ्नु पर्दैन, मात्र यौन बुझे पुग्छ । यो नयाँ समयमा बढ्दो आधुनिकताले नै मायाका बारेमा पनि नयाँ अर्थ लेखिरहेको छ । जसले विवाहभन्दा पहिले हुने शारीरिक सम्बन्ध बढाइ रहेको छ । विवाहपछि श्रीमान्सँग बस्न मन लागेन भने अर्को नयाँ सम्बन्ध बनाउनुमा कुनै आपत्ति छैन ।
एसएमएस शब्द शारीरिक सम्बन्धको पर्यायवाची बन्दैछ । यो कुनै यौनको औषधीभन्दा कम छैन । उत्तेजना बढाउन त्यति नै छाडा एसएमएस चाहिन्छ, त्यहाँ नयाँ शब्दकोश नै तयार हुन्छ । जेजस्तो गरे पनि हुने, कुनै नियम छैन । कति अचम्म छ आधुनिकतामा रमेको माया ? यहाँ चोखो प्रेमको कुनै ठाउँ छैन । आधुनिकतामा बगिरहेको यो बेलामा मायाको अर्थ व्यापक बन्दै गएको छ कि संकुचित ?
No comments:
Post a Comment