Friday, October 15, 2010
दसैंको .......
दसैंको सामाजिक पक्ष बलियो भए पनि यो पर्वसँग जोडिएको आर्थिक पाटो र यसले पार्ने प्रभाव सकारात्मक देखिएका छैनन् । आयो दसैं ढोल बजाई, गयो दसैं ऋण बोकाई’ भन्ने पुरानो कथनले दसैंको आर्थिक विभेदको अवस्थालाई त्यसै पनि धेरै हदसम्म उजागर गर्छ । त्यसमाथि हरेक वर्ष यो पर्व मनाउने तौरतरिका भड्किलो बन्दै गएको छ । अहिले दसैंकै कारण ऋणै बोक्नुपर्ने तनावपूर्ण अवस्थामा बहुसंख्यक नेपाली नहोलान् यद्यपि यो पर्वको बेला हुनेखाने र हँुदा खानेबीचको आर्थिक खाडल गहिरिँदै गएको भने प्रस्टै देखाउँछ । राजधानीका अग्ला र ठूला सपिङ मलमा एउटा वर्ग किनमेलमा व्यस्त भइरहँदा मध्यपश्चिम र सुदूरपश्चिमका विकट जिल्लामा खाद्यान्न अभाव भइरहेको र दसैं खल्लो हुने अवस्थामा पुगेको दुःखद् खबर आउनुले यो विभेदलाई छर्लङ्ग पारेको छ । एकातिर खानेकुराको जोहो गर्नै धौधौ परिरहेका बेला समाजको अर्को तप्कामा दसैं जुन रफ्तारमा भड्किलो र खर्चालु बन्दै गएको छ यो प्रवृत्तिलाई निरुत्साहित गरिनु आवश्यक छ ।
विजयप्राप्ति दसैंको प्रतीकात्मक अर्थ हो । त्रेतायुगमा अयोध्याका राजा रामचन्द्रले अत्याचार र अधर्मका प्रतीक रावणलाई युद्धमा हराएको पौराणिकतासँग यो पर्व जोडिएको छ । यसैका आधारमा समाजशास्त्रीले दसैंलाई शक्ति प्रदर्शनको पर्व भन्दै राजनीतिसँग समेत जोडेर हेर्ने गरेको पाइन्छ । पौराणिक र समाजशास्त्रीय तर्कको आफ्नै महत्त्व छ, यद्यपि हाम्रा सन्दर्भमा दसैं भनेको वर्ष दिनभरिको रिसराग, द्वेष र कलहलाई बिर्सने दिन हो । दसंैले मेलमिलाम, सहमति अनि सहकार्यको सन्देश बोेकेको
हुन्छ तर दुर्भाग्य, हामी असहमति र बेमेलपूर्ण राजनीतिक परिवेशमा यो पर्व मनाउँदै छौं । बाह्रौंपटक प्रधानमन्त्रीका लागि व्यवस्थापिका संसद्मा निर्वाचन भइसक्दा पनि दलीय आग्रह र गणितको राजनीतिबाट बाहिर निस्कन नसकेको हाम्रो राजनीतिक नेतृत्वका लागि दसैंको सन्देश निरर्थक जस्तो भइदिएको छ ।
पटकपटकको अवसरलाई चुकाउँदै आएको नेपालको राजनीतिक नेतृत्वका सामु फेरि एकपटक सहमतिको मार्गप्रशस्त गर्ने अवसर मिलेको छ । आपसी मनमुटाव र द्वेषलाई पछाडि छोड्दै दसैंलाई राजनीतिक मेलमिलापको दिशामा बढ्न अब चुक्नु हुन्न । प्रमुख दलका केही प्रमुख नेता विशेषका आग्रह र व्यक्तिगत प्रतिष्ठाको बन्धक पूरै देश र ऐतिहासिक प्रक्रिया हुनपुगेको छ । राजनीतिमा विकसित यो जटिलताले आम जनतामा घोर निराशाको अवस्था उत्पन्न भएको छ भने मुलुक देशी/विदेशी स्वार्थ शक्ति समूहको खेलमैदानमा परिणत हुने खतरा झनै बढ्दो छ । यद्यपि संक्रमणकालीन अवस्थामा बढ्दो यो जटिलताबाट मुक्त गर्ने दायित्व यिनै राजनीतिक दल र नेताहरूको काँधमा छ । तसर्थ दसैंले राजनीतिक गत्यावरोध अन्त्य र नयाँ आधारमा नयाँ सहमति गर्दै प्रमुख दलका शीर्ष नेताहरूलाई थाती रहेका ऐतिहासिक प्रक्रिया टुङ्गोमा पुर्याउने सद्बुद्धि र सफलता मिलोस् । दसैंको हार्दिक शुभकामना ।
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment