'ढिलो गए अवश्य पुगिन्छ, चाँडो गए भन्न सकिँदैन ।' नेपालमा हुँदा यो वाक्यांश देख्न र सुन्न पाइन्थ्यो । यसो हेर्दा ढिलो हिँड्दा ढिलै पुगिन्छ र चाँडो हिँडे पो चाँडै पुगिन्छ भन्ने अर्थ लाग्न सक्छ । तर यसको अर्थ गहिरो छ, जुन सुरक्षित यात्रासँग सम्बन्धित छ । अर्थात् चाँडो वा द्रुत गतिमा हिँड्दा के हुन्छ के अनुमान गर्न सकिँदैन । ढिलो अर्थात् सजिलै नियन्त्रण गर्न सकिने गति नै सुरक्षित छ अनि यात्रा सुरक्षित भए पो जहाँ पनि पुगिन्छ नत्र के भन्न सकिन्छ र । वास्तवमा सुरक्ष्ाित यात्रा विश्वभरकै सबाल हो । हामी नेपालमा होऔं वा विदेश जहाँ पनि यसमा जोड दिएको पाउँछौं । त्यसमा पनि सवारी यातायातको विकास भएको सहर बजारमा त अझै बढी ध्यान दिनुपर्ने हुन्छ ।
यतिबेला हामी इस्लाम धर्मको पवित्र महिना रमजानको माहोलमा छौं । यो महिनामा धार्मिक कार्यक्रमका अलावा ट्राफिक सचेतना पनि उत्तिकै महत्त्वपूर्ण कार्यक्रमका रूपमा आएको छ । त्यसैले पनि के भन्न सकिन्छ भने ट्राफिक सचेतना कति महत्त्वपूर्ण रहेछ । कतारको एउटा परोपकारी संस्था शेख थानी बिन अब्दुल्ला फाउन्डेसनद्वारा अगस्ट १३ मा प्रवासी नेपाली मुस्लिमका लागि दोहामा आयोजित बहृत् इफ्तारमा पनि यो ट्राफिक कार्यक्रम छुटेन । गत वर्ष पनि राफले आयोजना गरेको यस्तै इफ्तारमा पनि यो समावेश थियो । श्रव्यदृश्यको माध्यमबाट सुरक्ष्ाित सवारी सञ्चालन र असुरक्ष्ाित सञ्चालन, सुरक्षात्मक उपाय र ट्राफिक नियम उल्लंघनबारे दिइएको जानकारीले चालक र यात्रु दुवैलाई घच्घचाएको छ ।
यस्तै इफ्तारको समय हुन लाग्दा गाडीको स्पिड बढी हुने र त्यसले दुर्घटना निम्त्याएको भन्दै सवारी चालकहरूलाई जानकारी दिन ट्राफिक विभागसहितका संस्थाहरूले चालकलाई इफ्तार खाजा र सुरक्षासम्बन्धी सामग्री प्रदान गरेका छन् । उनीहरूले इफ्तार समय पूर्व इन्टरसेक्सनमा वितरण गरेर रमजानको समयमा सेफ ड्राइभिङ अभियानै चलाएका छन् । यसरी जताबाट हेर्दा पनि यसको महत्त्व कस्तो छ भन्ने प्रस्टै देखिन्छ ।
वास्तवमा ड्राइभिङ कला र पेसा हो, जुन चलाउन निश्चित मान्यता आवश्यक हुन्छ । यसको नियम कानुन र सञ्चालनका तरिका ध्यान दिनुपर्ने हुन्छ । तर नयाँ चालक आत्तिने र पुराना चालकले अलि हेलचक्र्याइँ गर्ने गरेका उदाहरण पनि छन् । ट्राफिक जानकारहरू के भन्छन् भने ड्राइभिङको बेला घरपरिवार वा अरू कुरा सोच्ने होइन, आफ्नो बाटो सोच्ने हो । फरक ठाउँमा आउँदा र घरपरिवारबाट टाढा हुँदा परिवारको सुख, दुःख, पीर चिन्ता वा सम्झना हुनु स्वाभाविक हो । तर ड्राइभिङ यस्तो पेसा हो, जहाँ आफ्नै अगाडिको बाटो अनि अरू चालक र पैदलयात्रुको अवस्थामा ध्यान दिनैपर्छ । त्यसैले ड्राइभिङ पेसा हो, जसका लागि सैद्धान्तिक ज्ञान, व्यावहारिक सीप, दक्षता, कला र यसको नियम कानुनबारे जानकारी हुनैपर्छ ।
आफ्नो गाडीको कन्डिसन थाहा पाउने, सिट बेल्ट बाँध्ने, मोबाइलको प्रयोग नगर्ने त सामान्य जानकारी नै भए । धेरैलाई राउन्ड अबाउट -घुम्ती चक्र) आएको बेला मोबाइलमा कुरा गर्दा समस्या पर्छ । ल नर्मल अवस्थामा त केही नहोला भन्ने मानौं तर फोन गर्नेले के कुरा गर्छ भन्ने त थाहा हुँदैन । अकस्मात कुनै विस्मात, हर्ष वा पीडाका कुरा सुनायो भने त त्यसको असर चालकलाई पर्छ र सन्तुलन गुम्छ अनि त्यसले दुर्घटना निम्त्याउँछ ।
मदिरा सेवन पनि दुर्घटनाको अर्को कारण हो । हुनत यहाँ मदिरा सेवनको निश्चित नियम छ, जसका लागि निश्चित आय र स्थान तोकिएको छ, यो आफैंमा सराहनीय छ । जसले ट्राफिक दुर्घटना रोक्न मद्दत गरेको छ । नेपालमै पनि चालकलाई मदिरा नपिऊँ त सबैले नभल्ना तर सबैले भन्न पर्ने कुरा के हो भने मदिरा पिएर सवारी चालाउनु हुँदैन । किनकि मदिराको जोसले होस गुमाइदियो भने त बर्बाद भैगो नि !
समस्या पैदलयात्रुहरूको पनि उत्तिकै छ । जुन समस्याले कैयौं यात्रुले ज्यानसमेत गुमाएका
छन् । यसमा झन् धेरै होसियारी आवश्यक छ । नेपाल र यहाँ गाडी गुड्ने ट्रयाक फरक भएकाले पनि धेरै नेपाली यात्रु झुक्किने गर्छन् । अनि ट्राफिक सिग्नलमा ध्यान नदिँदा पनि दुर्घटनामा निम्तिएका छन् । विचारै गर्ने हो भन्ने हो भने यहाँ गाडी चलाउनभन्दा बाटो काट्न गाह्रो छ । त्यसैले यसमा पनि ट्राफिक नियमसँगै होसियारीको आवश्यकता छ । जस्तो कि बाटो काट्ने ठाउँमा पैदलयात्रुको रातो बत्ती देखाएको बेला काट्नु भएन, बाटो काट्न हरियै बत्ती
कुर्नुपर्यो । बाटो काट्न सजिलो होस् भनेर कुनै ठाउँमा हरियो बत्तीका लागि पोलमा बटन राखिएको हुन्छ, त्यसलाई थिच्दा पनि हरियो बत्ती आउन मद्दत गर्छ । अनि अर्को कुरा, जेब्रा क्रसिङ भएको ठाउँ खोज्नुपर्यो ।
अहिले सवारीसाधनको विकाससँगै यसलाई नियमित गर्ने प्रविधि पनि उत्तिकै विकास भएको छ । जस्तै कतारकै कुरा गर्ने हो भने यहाँ ट्राफिक प्रहरी देखिएन भनेर नियम उल्लंघन गर्नेले छुट पाउन सक्दैन । सडकमा राखिएका क्यामरा, राडारले अवलोकन गरिरहेको हुन्छ र त्यसले मान्छेले भन्दा चाँडो समाइदिन्छ । नेपालमा बायाँ बाटो, यहाँ दायाँ बाटो
-राइट ट्रयाक) र नेपालमा राइट साइडमा स्टेरिङ यहाँ लेफ्ट साइडमा स्टेरिङ भएकाले नेपालबाट आउने चालकलाई केही अलमल हुन सक्छ । तर यहाँ आएर तालिम लिएरै फेरि लाइसेन्स लिनुपर्ने भएकाले पनि त्यति बेलासम्म यो समस्या
पर्दैन । नेपालमा खासै राउन्ड अबाउट छैन, यहाँ त कतिकति । त्यसैले पनि स्पिड आफ्नो कन्ट्रोलमा हुनैपर्छ ।
एक त फाइन चर्को छ, फाइन परे एक महिना होइन कति महिना त्यसैले लागि काम गर्नुपर्छ । अर्को कुरा धनभन्दा पनि ज्यानकै सबाल छ । यसर्थ हामी असल चालक र असल पैदलयात्रु हुनु नै सबै अर्थमा सुरक्षित र उत्तम उपाय हो । 'चाँडो गए भन्न सकिँदैन, ढिलो गए अवश्य पुगिन्छ ।' सबैको यात्रा सुरक्षित होस् । शुभयात्रा ।
janak_bhandari2002@yahoo.com
http://khichadi-janak.blogspot.com
http://khichadi-janak.blogspot.com
No comments:
Post a Comment